फिल्म । अभिनेता दयाहाङ राईले नेपाली फिल्म ‘अञ्जिला’ मा अभिनय गर्ने अवसर दिएर निर्देशक मिलन चाम्स र निर्माता प्रेमकुमार श्रेष्ठले ऋणी बनाएको बताएका छन् । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर फिल्म बन्ने खबर सुनेदेखि नै आफू उत्साहित रहेको अभिनेता राईले बताए ।
उनले भने,’कप्तानको फिल्म बन्दैछ भनेपछि भूमिका के हो समेत थाहा नपाई काम गर्न सहमत भएँ । यसको लागि म जिन्दगीभर ऋणी हुनेछु । खेलाडीका विषय फिल्ममा आउनु जरुरी छ ।’
अभिनेता राईले आफू हरेक नेपाली खेलको प्रशंसक र दर्शक रहेको बताउँदै महिला फुटबल टोलीको म ठुलो फ्यान रहेको जनाए । कप्तान सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा फिल्ममा रहेको छ ।
मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्ममा अभिनेता राईसँगै क्याप्टेन सुब्बा, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गएका छन् । अञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा छायांकन गरिएको फिल्मलाई प्रेमकुमार श्रेष्ठले निर्माण गरेका हुन् ।
यसको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित फिल्ममा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन् ।










