फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘दाल भात तरकारी’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक शिर्ष गीतलाई पोखराको रमणीय दृश्यमा खिचिएको छ भने यसमा फिल्मका दुइ कलाकार हरिवंश आचार्य र नीरुता सिंहलाई सेफको लुक्स दिइएको छ । फिल्ममा दर्शकले यी दुइलाई जोडीको रुपमा देख्न पाउनेछन् । यी दुइसँगै गीतमा पुष्प खड्का र आँचल शर्मा फिचर्ड छन् । दुबैले गीत अनुसार आफुलाई प्रस्तुत गरेका छन् । प्रविन सिंहको कोरियोग्राफी रहेको गीतलाई दीर्घ गुरुङले खिचेका हुन् भने यसलाई मित्र गुरुङले सम्पादन गरेका हुन् ।
‘गीतलाई कुनै सम्झौता नगरेर तयार गरेका छौ’ डेब्यु निर्देशक सुदन केसीले भने ‘ गीतमा हामीले आफ्नै पन दिने कोसिस गरेका छौ ।’ गीतमा शब्द हरिवंश आचार्यको रहेको छ भने यसमा शम्भुजित बास्कोटाले संगीत भरेका छन् । गीतमा राजेश पायल राई र स्मिता दाहालले स्वर दिएका छन् । मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेका फिल्ममा मदनकृष्ण श्रेष्ठ , शिवहरी पौडेल , बसुन्धरा भुषाल , विल्सन विक्रम राई , वर्षा राउत , राजाराम पौडेल , प्रियंका कार्की , रविन तामाङ लगायत मुख्य भूमिकामा छन् ।










