फिल्म । डायमण्ड आर्ट एण्ड कल्चरको आयोजनामा राजधानीमा ‘डायमण्ड रत्न सम्मान तथा अवार्ड २०८२’ सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार नीर शाह, युवराज लामा र वसुन्धरा भुसाललाई ‘डायमण्ड रत्न सम्मान’ प्रदान गरिएको थियो ।
कार्यक्रममा फिल्म ‘जेरी अन टप’बाट अनमोल केसी सर्वोत्कृष्ट नायक, ‘परान’बाट अन्जना बराइली सर्वोत्कृष्ट नायिका, ‘१२ गाउँ’बाट समीर भट्ट नव नायक, ‘खोजतलास’बाट पुष्पाञ्जली लिम्बु नव नायिका, ‘लाखे’बाट रोहित रुम्बा सह अभिनेता, ‘दुस्प्रयास’बाट विपना आङबुहाङ सह अभिनेत्री, ‘पिताम्बर’बाट प्रमोद अग्रहरि सर्वोत्कृष्ट खलनायक तथा आशान्त शर्मा हास्य कलाकार घोषित भए ।
त्यस्तै द्वन्द्व निर्देशक सञ्जय थापा, मेकअप आर्टिस्ट इन्दु टी. खत्री, संगीतकार कृष्ण भारद्वाज, नृत्य निर्देशक कविराज गहतराज, छायाकार सञ्जय लामा, कथाकार विकास सुवेदी तथा सम्पादक तारा थापा किम्बेले अवार्ड जितेका छन् । जुरी अवार्ड भने फिल्म ‘पूर्णबहादुरको सारंगी’बाट विजय बरालले प्राप्त गरे ।
आदिवासी विधातर्फ निर्देशक निमा लामा तामाङ, नायिका सुनिता लङबा तामाङ, नायक अमिर दोङ, गायक उत्तर लामा र गायिका लक्ष्मी स्याङतानले अवार्ड प्राप्त गरे ।
दुर्गा प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मोहन निरौला, दीपक तामाङ, दिनेश लिङदेन र रामशरण कोइराला जुरी सदस्य थिए । कार्यक्रममा निर्देशक किशोर सुब्बा, मिस पवि, गीतकार डा. हरि उप्रेती, नायक विक्रान्त बस्नेत, नायक दिनेश थापा, कलाकार खडकबहादुर पुलामी, समाजसेवी विनयजंग बस्नेत, हिमाल पाख्रिन, छिरिङ दोर्जे तामाङ, जित सिंह र गुरुकुमार खड्गीलाई सम्मान गरिएको थियो ।
डायमण्ड आर्ट एण्ड कल्चर २०४८ सालमा स्थापना भएको संस्था हो ।










