फिल्म । नयाँ अनुहार लिएर फिल्म ‘सैयारा’ मार्फत पुनः एक पटक निर्देशक मोहित सुरीले आफ्नो जादु छर्न भएका छन् । अहान पाण्डेको डेब्यु फिल्ममा उनको जोडी बनेकी छिन् अनीत पड्डा । उनीहरू दुईको केमेष्ट्रीले दर्शकले नयाँ पन दिएको छ । ‘सैयारा’ दुई प्रेमीहरूको हृदयस्पर्शी कथा हो । वाणी बत्रा (अनीत पाड्डा), एक गोप्य कवयित्री हुन्, जो आफ्नो विवाहको तयारीमा छिन् । तर विवाहको दिन उनको प्रेमी कोर्ट म्यारिजका लागि उपस्थित हुँदैन र अन्तिम क्षणमा उनलाई छोडिदिन्छ । यो आघातले वाणीलाई भित्रैदेखि तोड्छ र उनले कविता लेखन बन्द गर्छिन् । छ महिनापछि उनलाई पत्रकारको जागिर प्राप्त हुन्छ। यही क्रममा उनको भेट कृष कपूर (अहान पाण्डे) सँग हुन्छ, जो महत्वाकांक्षी गायक भए पनि भित्र रिसाहा स्वभावको छ ।
कृषले वाणीको एक कविता पढ्छन् र मोहित हुन्छन् । उनले वाणीलाई आफ्ना गीतहरूका लागि गीत लेख्न प्रस्ताव राख्छन् । सँगै काम गर्दै जाँदा दुवै नजिकिन्छन् र प्रेममा पर्छन् । तर, उनीहरूको प्रेमको बाटोमा थुप्रै अवरोधहरू छन् । कथाको बाँकी रहस्य फिल्मले क्रमशः खोल्छ ।
सङ्कल्प सदानाको कथा भावनात्मक छ । उनको स्क्रिनप्ले पनि उत्तिकै प्रभावशाली छ, जसले दर्शकलाई कथासँग जोड्छ । यद्यपि, केही दृश्यहरूले मोहित सुरीका पुराना फिल्महरू, विशेषगरी ‘आशिकी २’ को सम्झना दिलाउँछन् । रोहन शङ्करका संवादहरू मन छुने छन् र फिल्मको भावनात्मक गहिराइलाई थप प्रभावकारी बनाउँछन् ।
मोहित सुरीको निर्देशन परिपक्क छ । उनी गहकिला कथावाचकका रूपमा परिचित छन् र ‘सैयारा’ मा उनको परिपक्वता अझ प्रष्ट देखिन्छ । उनका फिल्महरूमा प्रायः एक्लोपन, मादकता र यस्तै विषयहरू समेटिन्छन् र यी सबै यहाँ पनि छन् । तर, कथाले त्योभन्दा धेरै कुरा बोकेको छ । ट्रेलरमा कथाको मुख्य ट्विस्ट नखोलिएकोले इन्टरभलको दृश्यले दर्शकलाई चकित बनाउँछ, जसका लागि निर्माताको प्रशंसा गर्नैपर्छ ।
कृषको दमदार प्रवेश, वाणीले कृषलाई गीत लेख्न नसकेकोमा हप्काउने दृश्य, वाणीले आफ्नो विगत स्वीकार्ने क्षण, कृषले क्रिकेट खेलिरहेको दृश्य र इन्टरभलपछिको ब्याकस्टेजको तीव्र ड्रामा जस्ता दृश्यहरूले गहिरो प्रभाव छोड्छन् । प्री-क्लाइमेक्स रोमाञ्चक छ भने फिनाले हृदयस्पर्शी छ ।
कमजोरीहरू निर्देशक सुरीले ‘सैयारा’ लाई फरक बनाउने प्रयास गरेका छन्, तर केही कथानकका बुँदाहरू ‘आशिकी २’ र उनका अन्य फिल्महरूसँग मिल्दोजुल्दो छन् । केही दृश्यहरू अस्वाभाविक लाग्न सक्छन्, जसले हलमा अनायास हाँसो निम्त्याउन सक्छ ।
अहान पाण्डेले शानदार डेब्यू गरेका छन् । उनको स्क्रिन उपस्थिति प्रभावशाली छ र विशेषगरी भावनात्मक दृश्यहरूमा उनले गहिरो छाप छोड्छन् । अनीत पाड्डा दर्शकका लागि आश्चर्य बनेकी छिन् । उनको चुनौतीपूर्ण भूमिकालाई सहजता र परिपक्वतासाथ निर्वाह गरेकी छिन् । अहान र अनीतको केमेस्ट्री आकर्षक छ, जसले दर्शकलाई तुरुन्तै जोड्छ । आलम खान (केभी) ले सानो भूमिकामा पनि प्रभाव छोड्छन् । सहायक कलाकारहरू गीता अग्रवाल (वाणीकी आमा), राजेश कुमार (वाणीका बुवा), वरुण बडोला (कृषका बुवा), शाद रन्धावा (प्रिन्स), सिड मक्कर (विनीत रावल–म्यानेजर), शान आर ग्रोभर (महेश अय्यर) र नील दत्ता (क्लियो) सबैले आफ्ना भूमिकालाई न्याय गरेर फिल्मलाई बलियो बनाएका छन् ।
फिल्मको सङ्गीत यसको सबैभन्दा ठूलो सम्पत्ति हो । टाइटल ट्र्याक उत्कृष्ट छ र शानदार ढङ्गले छायाङ्कन गरिएको छ । ‘धुन’ को मेलोडी र भिजुअल्समा गहिराइ छ । ‘बरबाद’, ‘तुम हो तो’ र ‘हमसफर’ जस्ता गीतहरू भावपूर्ण छन्, जसले कथाको भावनात्मक पक्षलाई बलियो बनाउँछन् । जोन स्टुवार्ट एडुरीको पृष्ठभूमि सङ्गीतले फिल्मको मूडसँग पूर्ण मेल खान्छ र दृश्यको प्रभाव दोब्बर बनाउँछ ।
विकास सिवारमणको छायाङ्कनले फिल्मलाई जीवन्त र समृद्ध लुक दिन्छ । लक्ष्मी केलुस्कर र रजत पोद्दारको प्रोडक्सन डिजाइन भव्य र विश्वसनीय छ । शील शर्माको कस्ट्युम डिजाइन ग्ल्यामरस छ र किरदारको स्वभावसँग मेल खान्छ । एजाज गुलाबको एक्सन सीमित भए पनि मनोरञ्जक छ । वाईएफएक्सको भिजुअल इफेक्ट्स उत्कृष्ट र सहज छन् । देवेन्द्र मुर्डेश्वर र रोहित माकवानाको सम्पादन सन्तोषजनक छ, जसले फिल्मको गति कायम राख्छ र अनावश्यक लम्बाइको अनुभव हुँदैन ।
‘सैयारा’ एक भावनात्मक र सङ्गीतमय प्रेमकथा हो, जसलाई मोहित सुरीको उत्कृष्ट निर्देशन, मन छुने रोमान्स, चार्टबस्टर सङ्गीत र प्रभावशाली मुख्य अभिनयले उचाइमा पुर्याएको छ । यो फिल्मले भावना र भव्यताको सन्तुलन कायम राख्छ, दर्शकलाई मनोरञ्जक र प्रभावकारी सिनेम्याटिक अनुभव प्रदान गर्छ । बक्स अफिसमा ‘सैयारा’ ले आश्चर्यजनक ओपनिङ कलेक्सन गर्दै यो वर्षको सबैभन्दा ठूलो ब्लकबस्टर बन्ने सम्भावना देखाएको छ ।









