फिल्म । बहुपती प्रथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्म ‘टुल्की’ निर्माण टिमले ‘कास्टिङ कल’ गरेको छ । चैत्रको दोस्रो साताबाट फ्लोरमा जाने फिल्ममा अभिनय गर्न इच्छुक कलाकारले एक मिनेट लामो भिडियो बनाएर निर्माण टिमलाई पठाउनु पर्नेछ । निर्देशक लक्ष्मण सुनारका अनुसार इच्छुकले पठाएको भिडियोहरुबाट उत्कृष्टलाई छानेर अडिसनको लागी बोलाइने छ ।
जुम्ला, मुगु र डोल्पामा छायाँकन गरिने यस फिल्मको लागी २० देखि २५ वर्ष उमेर समुहकी एक मुख्य अभिनेत्री र २२ देखि ३० वर्ष उमेर समुहका दुई मंगोलियन अनुहारका मुख्य अभिनेताका साथै अन्य सहायक कलाकारको लागी अडिसन खुल्ला गरिएको छ । कथामा केहि समय दिनु परेकाले निर्माण घोषणाको लामो समय पश्चात फ्लोरमा जाने तयारीमा रहेको निर्देशक सुनारले बताए ।
हरी श्रेष्ठ र शेखर लामा निर्माता रहेको फिल्मको कथा निर्देशक सुनार स्वयंमले तयार पारेका हुन् । अरोन अशोककुमारको छायाँकन रहने यसका मुख्य कलाकारको लागी अडिसन आगामी मार्च १२ अर्थात फागुन २९ गते गरिनेछ । यसको कथा निकै राम्रो भएका कारण पनि निर्माणमा कुनै कमी कमजोरी नछोड्ने निर्देशक सुनारको दाबी छ ।