‘दोस्रो जनकपुर अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ सुरु

फिल्म । आजदेखि ‘दोस्रो जनकपुर अन्तरराष्ट्रिय फिल्म महोत्सव’ सुरु भएको छ । संवाद फाउण्डेसनको आयोजनामा आगामी फागुन ११ गतेसम्म जनकपुरस्थित मैथिली भवनमा चल्ने उक्त महोत्सवमा मैथिली, नेपालीसहित विदेशी भाषाका ६० फिल्म प्रदर्शन गरिनेछ। साथै, समूहगत छलफललगायत विविध गतिविधि हुने महोत्सवका अध्यक्ष कुमार भास्करले जानकारी दिए ।

‘जनकपुरले मिथिलाञ्चललाई प्रतिनिधित्व गर्छ, महोत्सवले यसलाई उजागर गर्नेछ । हामी हाम्रो सभ्यता र संस्कृति विश्वलाई देखाउन र बुझाउन चाहन्छौँ’, उनले भने ।

नेपाली फिल्मको अन्तर्राष्ट्रिय, युवा फिल्मकर्मीलाई उत्प्रेरित गर्ने र सांस्कृतिक विविधताको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष भास्करको भनाइ छ ।

महोत्सवको उद्घाटन समारोहमा राजर्षिजनक विश्वविद्यालयका उपकुलपति अमरप्रसाद यादवले फिल्म क्षेत्रमा आफ्नो भविष्य देख्नेहरूका लागि महोत्सवले गन्तव्य दिने बताए । ‘हामीले आफ्नो पाठ्यक्रममा फिल्मलाई समेटेर यसप्रति रुचि राख्नेहरूलाई शिक्षा दिने विषयमा छलफल गरिरहेका छौँ । यस्ता महोत्सवले नेपालमा बनेका फिल्मसँगै विश्वभर बनिरहेका फिल्मबारे जानकारी दिन्छ’, उनले भने ।

यस्तै, चलचित्र समीक्षक समाजका अध्यक्ष समीप्याराज तिमल्सेनाले उपत्यकाबाहिर हुने महोत्सवले बजार प्रवर्द्धनमा सघाउने बताए । ‘तराईमा फिल्मका राम्रो दर्शक छन् र यहाँ फिल्म भवनको सङ्ख्या पनि राम्रो छ, तर स्वदेशी फिल्ममा ती दर्शक आकर्षित गर्न सकेका छैनौँ। यस्ता महोत्सवले मैथिली तथा अन्य स्वदेशी भाषाका फिल्मप्रति स्थानीय दर्शकलाई आकर्षित गर्छ’, उनले भने ।

महोत्सवको सुरुआत नानी सरा वाकर निर्देशित फिल्म ‘शक्ति’ प्रदर्शनबाट गरिएको थियो ।

कमेन्ट गर्नुहोस्