आना शर्माको ‘रमिताको पिरती’ अदालतको कठघरामा

फिल्म । रिलिजको तेस्रो हप्तामा प्रदर्शनरत फिल्म ‘रमिताको पिरती’ कानुनी विवादमा फसेको छ। शुक्रबार उच्च अदालत पाटनमा फिल्मको प्रदर्शन रोक्न माग गर्दै रिट दायर भएपछि यो फिल्म विवादको केन्द्रमा आएको हो । अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार फिल्मको प्रदर्शन रोक्न माग गर्दै निवेदन दर्ता भइसकेको छ। अधिवक्ता सृष्टि भट्ट र लक्ष्मी तामाङले निषेधाज्ञासहित अन्तरिम आदेश माग गर्दै मुद्दा दायर गरेका हुन्।

रिटमा फिल्म विकास बोर्ड, निर्माता कम्पनी शिरो फिल्म्स, कार्यकारी निर्मात्री अन्नपूर्ण शर्मा (आना शर्मा), लेखक सुदिप्ता अधिकारी र निर्माता सागर लम्साललाई विपक्षी बनाइएको छ। निवेदनमा फिल्मले पुरुष समुदायप्रति घृणा र वितृष्णा फैलाउने कथावस्तु प्रस्तुत गरेको उल्लेख गरिएको छ।

त्यस्तै, फिल्मले लैङ्गिक विभेदलाई बढावा दिने र सामाजिक सद्भाव बिगार्ने आशय राखिएको भन्दै प्रदर्शन रोक्न अदालतको ढोका ढकढक्याइएको हो।निवेदनमा फिल्म विकास बोर्डलाई पनि विपक्षी बनाइएको छ। बोर्डले सार्वजनिक शिष्टाचार र नैतिकताको प्रतिकूल विषयवस्तु भएको फिल्मलाई निर्माण अनुमति दिएको तथा सेन्सर बोर्डले पर्याप्त मूल्यांकन नगरी प्रदर्शन अनुमति दिएको आरोप पनि रिटमा उल्लेख गरिएको छ।

अब प्रश्न उठेको छ, अदालतले फिल्म रोक्ने आदेश दिन्छ कि ‘रमिताको पिरती’ विवादबीचै पर्दामा चलिरहन्छ । फिल्म गत माघ २३ गतेदेखि प्रदर्शनरत छ ।

कमेन्ट गर्नुहोस्