फिल्म । अभिनेता पल शाह स्टारर फिल्म ‘आबाट आमा’ ले घरेलु बक्सअफिसमा १० करोड रुपैयाँ ग्रस कमाइ पार गर्ने तयारी गरेको छ । सिनेपा: बक्सअफिसको विवरणअनुसार बुधबार बेलुका ८:३० बजेसम्म फिल्मले ९ करोड ९९ लाख ६८ हजार ५५१ रुपैयाँ ग्रस कमाइ गरेको छ ।
रात्रीकालीन शोहरूको आम्दानी जोड्दा फिल्मको ग्रस कलेक्सन १० करोड रुपैयाँ नाघ्ने अनुमान गरिएको छ । यो फिल्म पल शाहको करिअरमा दोस्रो सर्वाधिक कमाउने फिल्म बन्ने देखिएको छ ।
यसअघि पल शाह अभिनित फिल्म ‘शत्रु गते’ ले १२ करोड ६५ लाख ८२ हजार रुपैयाँ ग्रस कमाइ गरेको थियो । ‘आबाट आमा’ पल शाहको करिअरकै सर्वाधिक कमाउने फिल्म बन्छ कि बन्दैन भन्ने प्रश्नको उत्तरका लागि भने अझै केही समय कुर्नुपर्ने देखिन्छ ।
हाल प्रदर्शनरत केही फिल्मले चुनावको कारण देखाउँदै प्रदर्शन स्थगित गरेपछि त्यसको फाइदा चन्द्र पन्त निर्देशित ‘आबाट आमा’ लाई पुगेको देखिन्छ । सकारात्मक ‘वर्ड अफ माउथ’ का कारण आगामी सप्ताहन्तमा पनि फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।








