‘आ बाट आमा’ को कमाई ८ करोड नाघ्यो

फिल्म । चलचित्र विकास बोर्डले हाल हलमा प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेमा @ बक्सअफिस’ प्रणालीले फागुन २ गते शनिबारसम्मको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

गत माघ १६ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘आ बाट आमा’ ले हालसम्म ८ करोड ३१ लाख ८७ हजार ७८९ रुपैयाँ कारोबार गरेको बोर्डले जनाएको छ । फिल्मका लागि कुल ३ लाख १० हजार ३२३ टिकट बिक्री भएको छ । मनोरञ्जनसँगै देश परिवर्तनको विषय उठान गरिएको उक्त फिल्मको कथा अधिकांश नेपालीको जीवनसँग जोडिएको अभिनेता पल शाहले बताएका छन्।

फिल्ममा अभिनेता शाहसँगै विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट र बेगम नेपालीलगायत कलाकारको अभिनय रहेको छ। चन्द्र पन्तले निर्देशन गरेको उक्त फिल्ममा अभिमन्यु निरवीले संवाद लेखन, गम्भीर विष्टले नृत्य निर्देशन तथा कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले संगीत सिर्जना गरेका छन्।

कमेन्ट गर्नुहोस्