‘नेपहपको श्रीपेच ३’को औपचारिक घोषणा

सङ्गीत । नेपाली र्‍याप विधाको रियालिटी शो ‘नेपहपको श्रीपेच’को तेस्रो सिजनको औपचारिक घोषणा गरिएको छ । अघिल्ला दुई सफल सिजनपछि आज एक विशेष कार्यक्रमबीच शोको घोषणासँगै सिजन ३ का लागि डिजिटल अडिसन पनि खोलिएको छ । यो अडिसन कार्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । नेपाली टेलिभिजनमा र्‍याप विधाको एकमात्र स्थापित रियालिटी शो ‘नेपहपको श्रीपेच’को तेस्रो सिजनको टाइटल स्पोन्सरमा ‘रेड बुल’ रहनेछ ।

डिजिटल र फिजिकल दुवै माध्यमबाट अडिसन लिइने यस सिजनमा सहभागी हुन प्रतियोगीहरूले वेवसाइटमार्फत आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन् । यस्तै, आधिकारिक फेसबुक पेज, व्हाट्सएप नम्बर वा इमेलमार्फत पनि भिडियो पठाउन सकिन्छ । प्राप्त अडिसनमध्ये जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरिनेछ ।

शोको विजेताले १० लाख नगद, वर्ल्ड टुरको अवसर र विभिन्न ब्रान्ड इन्डोर्समेन्ट प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख नगदसहित विदेशी प्रस्तुतिको अवसर पाउनेछन् । पहिलो सिजनका विजेता भाइबर साइमन र दोस्रोका योङ्ग वेभ थिए । दामी मिडियाको प्रस्तुतिमा सुदिप पोखरेलको कन्सेप्ट र डिजाइनमा बनेको शोको निर्णायकमा मानस घले र गिरिश खतिवडा रहनेछन् । तेस्रो निर्णायक चाँडै घोषणा गरिने बताइएको छ । ‘नेपहपको श्रीपेच ३’ मङ्सिरको अन्तिम साताबाट टेलिभिजनमा प्रसारण सुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्