फिल्म । आगामी मङ्सिर १२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हर्ष’को नयाँ पोस्टर शुक्रबार सार्वजनिक गरिएको छ । पोस्टरमा मुख्य कलाकार खगेन्द्र लामिछाने, वर्षा राउत र बालकलाकार साइमन वादी खुशी भावमा प्रस्तुत छन्, जसले पारिवारिक सन्तानप्रतिको माया र आनन्दलाई झल्काउँछ । डेब्यु निर्देशक एकता पौडेलको निर्देशनमा बनेको यो फिल्म पारिवारिक कथामा केन्द्रित छ ।
स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी एकताले न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्म मेकिङमा स्नातक र व्यवस्थापनमा स्नातकोत्तर गरेकी छन् । यसअघि केही छोटा फिल्म निर्माण गरेकी उनले ‘हर्ष’ उत्कृष्ट हुने दाबी गरेकी छन् । फिल्ममा खगेन्द्र, वर्षा र साइमनसँगै निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन र सिर्जना नापितको अभिनय छ ।
आलोक शुक्लाको छायाङ्कन, समीर रहिमाल, वसन्त सापकोटा र एलिश कार्काको सङ्गीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ । अष्टलक्ष्मी प्रोडक्सन्स र ई–प्राइम मुभिजको ब्यानरमा बनेको फिल्मको कथा निर्देशक पौडेलकै हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता, हिक्मत चोखाल कार्यकारी निर्माता, इश्वर घिमिरे प्रोडक्सन म्यानेजर र कुलदीप शर्मा मुख्य सहायक निर्देशक छन् ।









