तेस्रो सातामा ‘जेरी अन टप’ : दश करोड क्लबमा प्रवेश

फिल्म । गत असोज ३१ गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ले घरेलु बजारमा १० करोडको ग्रस कलेक्सन गरेको छ । नेपालमा दश करोड क्लबमा प्रवेश गरेको जानकारी गराउँदै निर्माण पक्षले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै खुसियाली साटेको छ । वितरक करण श्रेष्ठले दश करोड रुपैयाँ ग्रस कलेक्सन गरेपछि निर्माता र कलाकारसहितले केक काटेर खुसियाली साटेको बताए ।

अभिनेता अनमोल केसी अभिनित यो फिल्म उनको सर्वाधिक कमाउने फिल्म बनेको छ । एकपछि अर्को दिन आक्रामक विजनेसलाई निरन्तरता दिएको फिल्मप्रति दर्शकको क्रेज तेस्रो सातामा पनि उस्तै देखिएकाले यो फिल्मले घरेलु बजारमा आझै अंक जोड्ने निश्चित छ ।

फिल्ममा जोडिएका कलाकारहरूको अभिनय, हिमाली दृश्य, निर्देशन कला, छायाङ्कन, व्याकग्राउन्ड स्कोर तथा सम्पादनलगायतका पक्षले उत्कृष्ट तारिफ पाएका छन् । दर्शकहरूले फिल्मका मुख्य कलाकार अनमोल केसी, आँचल शर्मा र जसीता गुरुङबीचको त्रिकोणात्मक प्रेमको केमेस्ट्रीलाई उत्कृष्ट भनेका छन् ।

सरोज न्यौपाने प्रस्तुतकर्ता रहेको यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । फिल्मको कथा हेमराज विसीले लेखेका हुन् भने विश्वास तिम्सिनाले पटकथा र दुलिप रेग्मीले छायांकन गरेका छन् । ‘जेरी अन टप’लाई रीच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गरेका छन् ।

कमेन्ट गर्नुहोस्