फिल्म । नीर शाहको केन्द्रीय भूमिका रहेको भावनात्मक पारिवारिक कथानक फिल्म ‘परान’ आज (कात्तिक १४) बाट देशभर रिलिज भएको छ । उत्साहजनक शो सङ्ख्यासहित रिलिज भएको यस फिल्मले पारिवारिक दर्शकलाई आकर्षित गर्ने उच्च अपेक्षा गरिएको छ । बिहीबार राति काठमाडौँमा आयोजित ग्राण्ड प्रिमियरमा ‘परान’ले उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।
फिल्म हेरिसकेपछि धेरै दर्शक भावुक भएको देखिन्थ्यो । विशेषगरी आफ्नो परिवारका सदस्यलाई धेरैले ‘बारबार सम्झनामा ल्यायो’ भन्दै प्रतिक्रिया दिएका थिए ।वरिष्ठ अभिनेता हरिवंश आचार्यले निर्देशक दीपक आचार्यको डेब्यु फिल्म उत्कृष्ट रहेको भन्दै ‘परान’ले देखाएको कथा हरेक गाउँको समस्या भएको बताउनुभयो । उहाँले ‘परान’ हेर्दा धेरैले आफ्नो घरको कथा महसुस हुन सक्ने भन्दै सबैलाई फिल्म हेर्न आग्रह गर्नुभयो ।
अहिले प्रदर्शनरत ‘जेरी अनटप’का निर्देशक सुयोग गुरुङले ‘परान’ छुटाउनै नहुने फिल्म बनेको प्रतिक्रिया दिए । हेरिरहँदा आँखा झिमिक्क नहुने र कतिखेर आँखामा आँसु आउँछ थाहा नै नहुने भन्दै आफ्नो पनि आँसु खसेको उनले बताए । अन्य सेलिब्रेटीले पनि सकारात्मक प्रतिक्रिया दिएका थिए । साथै प्रिमियरमा उपस्थित अधिकांशले फिल्मका निर्माताद्वय शेखर गोल्छा र रञ्जित आचार्यलाई फिल्म निर्माणमा प्रवेशसँगै उत्कृष्ट फिल्म दिएकोमा बधाई तथा शुभकामना दिएका थिए ।
फिल्मले आफ्नो उमेरको उत्तरार्धमा रहेका एक बाबुको कथा प्रस्तुत गर्छ, जसले आफ्ना सन्तानको नजिक रहन चाहन्छन् तर सन्तानका आफ्नै प्राथमिकताका कारण ती चाहना पूरा हुन सक्दैनन् । यसै अन्तर्द्वन्द्वलाई फिल्मले भावनात्मक रूपमा चित्रण गरेको छ । फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रूपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बालकलाकार आर्यादीप आचार्यले अभिनय गरेकाछन् ।
त्यस्तै, फिल्मका गीतमा निर्देशक दीपक आचार्यकै शब्द र रिदम कँडेलको सङ्गीत रहेको छ भने प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालले स्वर दिएका छ । शेखर गोल्छा र रञ्जित आचार्यले संयुक्त रूपमा निर्माण गरेको फिल्ममा शिवराम श्रेष्ठले छायाङ्कन, मित्र डि गुरुङले सम्पादन र गगन थापामगरले सङ्गीत दिएका छन् ।









