फिल्म । विशेष परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गते रिलिज हुन नसकेको फिल्म ‘महाभोज’ अब यही जेठ ३० गते देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले रिलिज मिति सारिएको जानकारी सार्वजनिक गर्दै दर्शकहरूसँग क्षमा मागेको छ । यसै सन्दर्भमा, फिल्मका निर्देशक दिनेश राउतले दर्शकको धैर्य र समर्थनका लागि आभार प्रकट गरे ।
निर्देशकले भने, ‘हामीले धेरै मिहिनेतका साथ तयार पारेको ‘महाभोज’ केही विशेष परिस्थितिका कारणले निर्धारित मितिमा रिलिज गर्न सकेनौँ । दर्शकहरूप्रति यसबाट असहजता सिर्जना भएकोमा हामी क्षमा प्रार्थी छौँ । अब जेठ ३० गते रिलिज हुँदैछ । यो हाम्रो समाजको कथा हो, तपाईँहरूको साथ र मायाले मात्र हामी सफल हुन्छौँ ।’
केही दिनअघि यो फिल्मको काठमाडौंमा प्रिभ्यु शो आयोजना भएको थियो, जहाँ फिल्म हेरेका दर्शकहरूले व्यापक सकारात्मक प्रतिक्रिया दिएका थिए । यसमा सहकारी पीडितको कथा मात्र नभएर अत्यन्तै मनोरञ्जक समेत रहेको प्रतिक्रिया उक्त शोबाट प्राप्त भएको थियो । फिल्म ‘महाभोज’ मा समावेश कथा, प्रस्तुति शैली र कलाकारहरूको अभिनयले दर्शकमा चासो पैदा गरिरहेको छ ।
यसमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका प्रमुख अभिनय रहेको छ । क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको यसका निर्माता हिमाल कडरिया हुन् ।









