पौडेलले गरे पत्रकारलाई सहयोग

फिल्म । कोरोना भाइरसको दोस्रो लहर देखिएसंगै नेपालमा पनि संक्रमित र मृतकको दर बढ्दो छ । अक्सिजन अभाव , कोरोना संक्रमितहरुका लागि प्रयोग हुने औषधि रेड्मीसिभिर लगायतको अभावको समाचारसंगै सामाजिक सञ्जालमा गरिएका पोष्टहरु देख्न पाइन्छ । यस्तै परिस्थितिमा पनि सञ्चारकर्मी आफ्नो क्रममा सक्रिय छन् र फ्रन्टलाइनमा रहेर पाठकलाई सूचना प्रवाह गरि रहेकैछन् ।

यिनै महामारीबीच फ्रन्टलाइनमा सक्रिय सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाका लागि फिल्म ‘तिम्रो मेरो साथ’का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन् । सञ्चारकर्मी हुँदै फिल्म निर्माण तथा निर्देशनमा सक्रिय पौडेलले पत्रकार राजन घिमिरे मार्फत उक्त रकम नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवालसहितको उपस्थितिमा एसोसिएट प्रदेश अध्यक्ष वैकुण्ठराज पराजुलीलाई हस्तान्तरण गरेका हुन् ।

फिल्म निर्माण युनिटसंग जोडिएका पत्रकार घिमिरेले यस सहयोगले फ्रन्टलाइनर रहेका आफु जस्तै सञ्चारकर्मीलाई हौसला मिल्ने विश्वास व्यक्त गरे । यस्तै , एसोसिएट प्रदेश अध्यक्ष पराजुलीले कोभिड- १९ को संक्रमणका परेका र संक्रमणको जोखिममा रहेका सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाको चिन्ता गर्दै सहयोगका लागि हात अघि बढाएका पौडेलप्रति आभार व्यक्त गरे ।

‘समग्र सञ्चारकर्मीहरूको पेसागत सुरक्षा र स्वास्थ्य सुरक्षाको पक्षमा उभिनु हाम्रो दायित्व हो’, पराजुलीले भने, ‘प्रदेश समितिले अघि बढाएको यो अभियान र अग्रसरतामा हातमा हात मिलाउने सहयोगी मनहरूप्रति कृतज्ञ छौँ ।’ उनले उक्त रकम प्रदेशको पत्रकार कोरोना सुरक्षा कोषमा जम्मा गरिने बताए ।

पौडेलको डेब्यु निर्देशन रहेको फिल्म ‘तिम्रो मेरो साथ’को छायांकन सकिसकेको छ भने प्रदर्शनका लागि तयार हुदैछ । अवस्था सामान्य भए ;लगत्तै प्रदर्शनको तयारी गरिने पौडेलको भनाइ छ । उनले यसअघि ‘रुद्रप्रिया’, ‘राज्जा रानी’लगायतका फिल्म निर्माण गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्